
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन् ।
उनले आज (आइतबार) सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका हुन् । त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने खड्का बताएका छन् ।उनले दाँयाबायाँ नसोची निर्वाचन मिती तोक्नुपर्ने उनको माग छ ।
उनले लेखेका छन्, ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’
कांग्रेस पदाधिकारी बैठकको हालैको निर्णय पनि राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने थियो । साथै कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेस प्रमुख प्रतिपक्षमा छ । कांग्रेसले राष्ट्रपतिमा भने आफूहरूलाई सहयोग गर्न माओवादीलाई आग्रह गर्दै आएको छ।














