
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्बोधन गर्ने बताएका छन् ।
आइतबार दिउँसो मानव अधिकारका लागि एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन् । एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्न सामाजिक चेतना र जागरण जरूरी भएको उनको भनाई थियो ।
‘तपाईहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ । त्यसलाई सम्वोधन गर्ने मेरो प्रयास हुनेछ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले थपे– ‘संविधानमा नै व्यवस्था गरेर एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग तपाईहरूले राख्नुभएको छ । यो न्यायोचित माग नै हो । यसका लागि हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे–जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्बोधन गरिनेछ ।’
२७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे । ‘२७ वर्षको अवधिमा तपाईहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाहरूको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु,’ उनले भने ।














