
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिन अघि सभापति पद गुमाएका रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
रास्वपाको आज सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार शुक्रबार सभापति पद गुमाएका लामिछाने पुनः सभापति बनेका छन् ।
शुक्रबार सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्दै खारेज गरिदिएपछि रविले पार्टी सभापति, सांसद र गृहमन्त्री पद गुएमाका थिए ।
लामिछानेले आइतबार नै प्रकृया पूरा गरेर जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।
रविले नागरिकताको प्रमाणपत्र लिएसँगै पुनः गृहमन्त्री नियुक्त गर्नुपर्ने माग उठेको छ । सत्तासाझेदार दल नेकपा एमालेले पुनः गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएको बुझिएको छ ।
सर्वोच्चको फैसलासँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि गैरसांसद भइसकेका छन् । वर्तमान व्यवस्थाअनुसार गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने व्यवस्था रहेको छ ।














