Logo
Logo

प्रहरीको जनशिक्त ८० हजार पुग्यो, प्रहरीका दुई सय कार्यालय थपिदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज 
नेपाल प्रहरीमा दुई सय नयाँ कार्यालय स्थापना हुने भएको छ । सरकारले प्रहरीमा तीन हजार पाँच सय ९६ दरबन्दी थप भएसँगै नयाँ कार्यालय स्थापना हुने भएको हो ।
गत ७ गतेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको नयाँ दरबन्दी स्वीकृत गरेको हो । जसअनुसार अब सबै स्थानीय तहका केन्द्रमा प्रहरी कार्यालय स्थापना हुने गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए । नयाँ दरबन्दीबाट एक सय ८७ चौकी तथा १४ वटा ट्राफिक बिट स्थापना हुने छ । त्यस्तै त्यस्तै आठ वटा प्रहरी चौकीको स्तरोन्नती गर्न लागिएको छ ।


सबै स्थानीय तहमा यसअघि नै प्रहरी कार्यालयहरु पुगिसकेका छन् । तर, स्थानीय तहको केन्द्रमा प्रहरी कार्यालय नहुँदा बैंकको शाखा स्थापना लगायतका कामका लागि समस्या हुँदै आएको थियो । स्थानीय तहबाट भएको मागकै आधारमा दरबन्दी थप गरिएको हो ।
कुन दरबन्दी कति ?
सरकारले तीन एसएसपी, चार एसपी, २१ डिएसपी, ४७ इन्सपेक्टरको दरबन्दी थप गरेको हो । तीन एसएसपीमध्ये एक प्राविधिक हुन् । प्रहरी संगित बिद्यालयमा एसएसपीको दरबन्दी सिर्जना गरिएको छ । त्यस्तै एक गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा अर्काे प्रहरी प्रधान कार्यालयका लागि दरबन्दी थप भएको हो । एसपीमा चार दरबन्दीमध्ये दुई सिभिल इन्जिनियरीङतर्फको छ । बाँकी दुईमध्ये एक पर्यटक प्रहरी तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हो ।
८६ जना प्रहरी नायब निरीक्षक(सई), दुई सय ९७ सहायक प्रहरी निरीक्षक(असई), ६ सय ८३ हवल्दार, दुई हजार दुई सय १६ जवान र दुई सय ४२ कार्यालय सहयोगीको दरबन्द िथप गरिएको छ । नयाँ दरबन्दीमा छिट्टै भर्ना र बढुवाप्रक्रियाबाट पदपुर्ती गरिने प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए ।
८० हजार पुग्यो नेपाल प्रहरी
नयाँ दरबन्दी थपसँगै प्रहरीको जनशक्ति ८० हजार नजिक पुगेको छ । हाल प्रहरीमा ७५ हजार नौ सय २७ जनशक्ति छ । तीन हजार पाँच सय ९६ थप भएपछि प्रहरीको जनशक्ति ७९ हजार पाँच सय २३ पुगेको छ । तर, अझै जनशक्ति अपर्याप्त रहेको प्रहरीले जनाउँदै आएको छ । अन्तराष्ट्रिय मापदण्डअनुसार दुई सय नागरिक बराबर एक प्रहरी हुनुपर्ने मान्यता छ । नेपालमा एक प्रहरीअनुसार तीन सय ७५ जनताको अनुपात छ ।

प्रतिक्रिया दिनुहोस्