
काठमाडौं । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ ।
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आफ्नो छुट्टै उम्मेदवार उठाएपछि नागरिक उन्मुक्ति गठबन्धनबाट बाहिरिएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको बताइन् ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमा सत्ता गठबन्धनबाटै २ जना उम्मेदवार छन् ।
एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा माघ २५ गते मतदान हुँदैछ ।
नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाई प्रमुख मुद्दा बनाएको थियो । तर, त्यसमा सरकार सहमत नहुँदा नागरिक उन्मुक्ति प्रदेशमा गठबन्धनबाट अलग भएको अध्यक्ष श्रेष्ठकाे भनाइ छ ।