Logo
Logo

महाप्रबन्धक ठाकुरकै नेतृत्वमा विमानस्थलभित्र भ्रष्टाचार


3.7k
Shares

काठमाडौं । गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित आन्तिरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाल घुससहित रंगेहात पक्राउ परेको घटनाले विमानस्थभित्र कुन हदसम्म भ्रष्टाचार झांगिएको छ भन्ने प्रष्ट पारेको छ ।

चुडालले पास मिलाइदिन मात्र मासिक दररेट नै तोकेर एयरलाइन्स तथा कार्गाे व्यवसायीसँग पैसा लिँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सो स्टिङ अप्रेसनले प्रष्ट पारेको छ ।

उनलाई आयोगले डेढ लाख घुससहित पक्राउ गरेको हो । एक कार्गाे व्यवसायीसँग विमानस्थलभित्र आवातजावतमा सहज बनाउन पास मिलाइदिएवापत उनले एक महिनाको १५ हजार रुपैयाँको रेट तोकेका थिए ।

१५ महिनाको एकमुष्ठ रकम लिएलगत्तै उनी पक्राउ परेका हुन् । साथै उनीबाट आयोगले स्रोत नखुलेको आठ लाख रुपैयाँ पनि बरामद गर्याे ।

अझ, उनको दराजबाट महंगा मदिराहरु समेत बरामद भएको छ । त्यो रकम र मदिरा पनि घुसवापत एयरलाइन्स तथा अन्य व्यवसायीसँग लिएको अख्तियारको सूचना छ । चुडालले असुली आतंक नै मच्चाएपछि पीडितहरुले अख्तियारमा उजुरी गरेर उनलाई पक्राउ गराएका हुन् ।

स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिन्य विमानस्थलको बाह्य तथा आन्तरिक टर्मिनलका हरेक शाखामा यस्तै भ्रष्टाचार छ । यस्तो भ्रष्टाचारको संस्थागत रहेको रकम सिंहदरबारसम्म पुग्ने गरेको ती कर्मचारी बताउँछन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हाल प्रेमनाथ ठाकुर छन् । उनको नेतृत्वमा विमानस्थलभित्र भ्रष्टाचार झन् बढेको छ । विमानस्थलभित्र व्यवसाय सञ्चालनदेखि ठेक्कापट्टा र खरिदका काममा अनियमिता बढेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पासमा झन् ठूलो अनियमितता रहेको स्रोत बताउँछ । जहाँ अनाधिकृत व्यक्तिले पैसा खर्च गरेकै भरमा पास पाउने गर्दछन् । यस्तो पासको दुरुपयोग गरी सुन तथा डलर समेत तस्करी हुने गरेको छ ।

विमानस्थलभित्रको अति संवेदनशील मानिने स्टेराइल जोनबाटै पनि अवैध मुद्राको कारोबार भइरहेको छ । त्यहाँ सेटिङका आधारमा रेष्टुरेन्ट चलाउन दिइएको छ ।

विमानस्थलभित्र व्यापार गर्नेहरुले पासको दुरुपयोग गर्ने र चेकजाँचको सिष्टम समेत बलियो हुन नसक्दा अवैध गतिविधि बढेका छन्, यसले विमानस्थलको सुरक्षामै जोखिम बढेको प्रहरी अधिकारी बताउँछन् ।

विमानस्थलको महाप्रबन्धक तथा शाखा प्रमुख नियुक्तिमै ठूलो चलखेल हुने गरेकाले पनि यस्तो भ्रष्टाचार मौलाएको हो ।

प्रतिक्रिया दिनुहोस्