Logo

 घुर्की लगाउँदा पनि प्रधानमन्त्रीले गृह मन्त्रालय नदिएपछि ओलीको शरणमा परे रवि 



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । आज (मंगलबार) दिउँसो ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका हुन् । 

फाइल फोटो

बालकोटमा भएको भेटमा रविले सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरू पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएका थिए । 

सभापति लामिछानेले आजै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटेका थिए । भेटमा लामिछानेले गृह मन्त्रालय आफ्नो पार्टीले बताएका थिए । आजै बेलुकासम्म सपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए । गृह मन्त्रालय आफूहरूले नपाए सरकारबाट बाहिरिने भन्दै लामिछानेले प्रधानमन्त्रीलाई घुर्की समेत लगाएका थिए । 

तर प्रधानमन्त्री प्रचण्डले लामिछानेको नागरिकता विवादमा सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीमा नियुक्त नगर्ने अडान राखेका थिए । प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने लामिछानेलाई बताएका थिए । 

घुर्की लगाउँदा समेत प्रधानमन्त्री प्रचण्डले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेपछि लामिछानेले एमाले अध्यक्ष ओलीलाई गुहारेका हुन् ।  

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोजेका छन् । त्यसका लागि उनले प्रधानमन्त्री प्रचण्डलाई पनि दबाब दिएका छन् । त्यही सिलसिलामा उनले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्