काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पालैपालो भेटवार्ता गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्रीसँग भेट गर्न राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन वालुवाटार पुगेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए । गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठबन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए । ओलीले पनि त्यसमा सकरात्मक प्रतिक्रिया दिएको समाचार बाहिरिएको थियो । सोहीअनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग कुरा राखेको स्रोतको भनाइ छ ।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने गृह आफ्नै पार्टीमा राख्न चाहिरहेका छन् । बालु्वाटार स्रोतका अनुसार उनीहरुबीच राष्ट्रपति निर्वाचनबारे पनि छलफल भएको छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन तोकेको छ ।














