Logo
Logo

क्यानले घटायो महिला क्रिकेटरको करार संख्या



पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ । पोखरामा बसेको क्यानको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि पुरुष र महिलातर्फ १८ जना खेलाडी करारमा राख्दै आएको थियो । त्यसमा करारमा ६ महिला खेलाडी कटौती गर्ने निर्णय गरेको छ । जसअनुसार अब पुरुषतर्फ १८ र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने भएको छ ।
क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान ३ जना छन् भने ग्रेड सी मा ६ जना रहेका छन् । कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा ग्रेड एमा कायम छन् ।

यस्तै काजल श्रेष्ठ बी मा घटुवा हुँदा अस्मिना कर्माचार्य सी बाट बी मा बढुवा भएकी छन् । कविता कुँवर बी ग्रेडमै यथावत छन् । ज्योती पाण्डे र अप्सरी बेगम ग्रेड सीमा घटुवा भएका छन् । कविता जोशी, विन्दु रावल, संगिता राई र ममत चौधरी ग्रेड सी मा यथावत छन् ।

फिटनेशलगायतका आवश्यक मापदण्ड पूरा नगरेका कारण यसपटक करारमा रहने महिला खेलाडीको संख्या घटेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

महिलातर्फ ए ग्रेडमा परेमा खेलाडीले मासिक २१ हजार रुपैयाँ, बीमा रहेकाले १८ हजार र सीमा रहेकाले १५ हजार रुपैयाँ पाउँने गरेका छन् भने पुरुषतर्फ ग्रेड एमा परेका खेलाडीले ६० हजार, बीमा रहेकाले ५० हजार र सी ग्रेडमा रहेका खेलाडीले मासिक ४० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्