Logo
Logo
विमानस्थलमा वेथिति

विमानस्थलभित्र पार्किङदेखि अराइभलको प्रतिक्षालयसम्ममा ठगी


882
Shares

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कुन हदसम्म ठगी छ भने विदेशबाट आउने आफन्त लिन जाँदा प्रतिक्षा गर्ने ठाउँमा बस्न समेत टिकट काट्नुपर्ने हुन्छ । त्यो पनि निजी कम्पनीले टिकट काटेर सर्वसाधारणसँग पैसा असुल्ने गरेको छ ।

प्रतिक्षालयमा बस्नका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । यस्तो व्यवस्था विश्वका कुनै पनि विमानस्थलमा छैन ।

विमानस्थलको जग्गा लिजमा लिएर नयाँ अराइभल बनाएको आइएमएस एयरपोर्ट सर्भिस कम्पनीले यसरी नागरिक उड्डयनकै मिलेमतोमा ठगी गरेको हो ।

जबकी सो कम्पनीसँग सम्झौता गर्दा यसरी प्रतिक्षालयमा टिकट काट्ने व्यवस्था हुने भन्ने कुनै प्रावधान छैन । खुलेआम यसरी सर्वसाधारणमाथि ठगी हुँदा पनि नागरिक उड्डयन कार्यालयले चासो नदिनुमा मिलेमतो प्रष्ट हुन्छ ।

त्यस्तै सो कम्पनीले पार्किङमा पनि चार गुणासम्म लिएर ठगी गर्दै आएको छ । नागरिक उड्डयनको सेवा शुल्कसम्बन्धि नियममा तोकिएको भन्दा नयाँ पार्किङमा चार गुणा बढी पैसा लिने गरिएको छ ।

आइएमएसले सञ्चालन गरेको पार्किङमा मात्र होइन विमानस्थलको पुरानो पार्किङ, आन्तरिकतर्फको पार्किङमा पनि तोकिएभन्दा धेरै पैसा असुल्ने गरिएको छ ।

अर्काेतर्फ जग्गा लिजमा दिदा भएको सम्झौता बमोजिमका संरचना भने विमानस्थलमा बन्न सकेका छैनन् । पार्किङको छेउमा चिल्ड्रेन पार्क बनाउने सहमति थियो ।

तर, अहिलेसम्म पार्क बन्न सकेको छैन । पार्क बनाउँदा कम्पनीलाई अतिरिक्त आम्दानी नहुने भएकाले त्यसमा मतलब गरिएको छैन ।

विमानस्थल कार्यालयका अधिकारीले पनि अतिरिक्त लाभ लिन पाएपछि यसमा चासो दिएका छैनन् ।

सोही कम्पनीले बनाएको ट्राभलेटरमा हरेक दिनजसो यात्रु लड्ने गरेका छन् । त्रुटीपूर्ण ट्राभलेटर बनाउँदा हजारौं सर्वसाधरणले दुःख पाएका छन् भने, यसबाट देशकै छवीमा समेत धक्का लागेको छ । तर, यस्ता गल्ती स्वीकार्न विमानस्थल कार्यालयलाई चासो छैन ।

सुरक्षा खतरा उस्तै

विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा गर्न नसक्दा केही महिना अगाडि एक व्यक्ति अनाधकिृतरुपमा विमानभित्रै प्रवेश गरेको घटनाले हंगामा मच्चियो ।

पेरिमिटर बलियो बनाउन बजेट नभएको उड्डयन कार्यालयले बताउने गरेको छ । तर, विमानस्थलको झन्डै दुई अर्ब रुपैयाँ विभिन्न निकायले तिरेका छै्रनन् ।

नागरिक उड्डयन कार्यालयले बक्यौता उठाउन धरौटी राख्ने सिष्टम नबनाउँदा कतिपय कम्पनी भाडा तथा दस्तुर नतिरी भागिसकेका छन् । केहीले राजनीतिक पहुँच र शक्तिका आडमा भाडा तथा सेवाशुल्क तिरेका छैनन् । केहीको भने सेटिङ चलेको छ ।

गत वर्ष गत ९ फागुनमा एक युवक बाहिरी तारबारबाट छिरेर सीधै विमानभित्र पुगेका थिए । उनी कतार उड्न लागेको नेपाल एयरलाइन्सको बिजनेस क्लासमा पुगेपछि हंगामा मच्चिएको थियो ।

यो घटना निकै संवेदनशील भएको भन्दै गृह मन्त्रालयले छानबिन गर्यो । छानबिनको क्रममा सुरक्षा निकायले नागरिक उड्डयनलाई नै दोष लगाएका थियो ।

प्रतिक्रिया दिनुहोस्