
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजी कम्पनीलाई पाठ्यपुस्तक छपाइको काम दिएको भन्दै अनेरास्ववियुले जनक शिक्षाको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
सरकारले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न निजी कम्पनीलाई दिने गरेको निर्णयविरुद्ध अनेरास्ववियुले जनक शिक्षाको सानाेठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको आरोप लगाए ।
अध्यक्ष पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनुपर्ने लगायतका धारणा राखेका छन् ।
शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियुले नसहने, त्यस्ता भ्रष्टाचारविरुद्ध कडा प्रतिवाद गर्ने समेत पराजुलीले चेतावनी दिएका छन् ।














