Logo
Logo

२० वर्ष पुगेका सवारी साधनलाई परीक्षण गरेर चल्न दिनुपर्ने माग



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।

महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले बुधबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो ।

बीस वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न मिल्ने सवारी साधनलाई सञ्चालनका लागि आवश्यक प्रक्रिया पु¥याउन मन्त्रीसमक्ष माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायको सहभागिता रहने गरी ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्नसमेत माग गरेको छ । देशभर तीन सय ६५ सङ्घसंस्था आबद्ध रहेको महासङ्घमा तीन लाख ८० हजार सवारीसाधन आबद्ध रहेका छन् ।

विसं २०३६ मा स्थापना भएको महासङ्घमा हाल प्रत्यक्ष ११ लाख र अप्रत्यक्षयरूपमा ४० लाख श्रमिक आबद्ध रहेका छन् । उक्त महासङ्घअन्तर्गत देशका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्ब लगानी रहेको छ ।

भेटमा मन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने बताए । ‘यातायात व्यवसायी र यातायात क्षेत्रका श्रमिकले राखेको राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नका लागि मन्त्रालयले कार्यदल निर्माण गरेको छ, उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्