काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

बिहीबार बाँकेको कोहलपुरका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि आत्मदाहको प्रयास गरेको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत थिए ।
रिजालका अनुसार नागरिकता विवादका कारण गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेलाई अन्याय भएको भन्दै कार्कीले आत्मदाहको प्रयास गरेका थिए ।
कार्कीले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । शरीरमा आगो लगाउने प्रयास गर्नेबित्तिकै थाहा पाएपछि अरू कर्मचारीले उनको तत्काल उद्धार गरेका थिए ।














