काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउप्रति उनको पार्टीले भर्त्सना गरेको छ ।
सरकार र तत्कालीन आन्दोनकारी थरुहट(थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सांसद चौधरीलाई नियन्त्रणमा लिएको भन्दै नागरिक उन्मुक्तिले भर्त्सना गरेको हो ।

नागरिक उन्मुक्तिले सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ। त्यसअवधिमा सांसद चौधरी रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई उन्मुक्तिले निर्देशन जारी गरेको छ ।
‘उनी २०६६ देखि आजसम्म कहि कतै फरार नरहेको, यसबीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्,’ पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो । आज नागरिक उन्मुक्ति पार्टीबाट धिमा विजय पश्चात यो मुद्रा किन उदयो र पूर्वाग्रहि आँखाले किन हेरियो ?’
यो गतिविधि सम्पूर्ण आदिवासी थारुजाति र पहिचानवादीहरूमाथिको विभेद भएको नागरिक उन्मुक्तिको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ– ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घण्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैँ घट्ने घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछ, यस घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीमा ठूलो आघात परेको महसुस गरेको छ। हामीलाई जबरजस्त आन्दोलनमा जाने धकेल्ने प्रयास नगरियोस्।’














