कैलाली । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सांसद अरुण चौधरीलाई सुनियोजितरूपमा पक्राउ गरिएको बताएकी छन् । पक्राउ परेका सांसद चौधरीसँगै धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीसँग भनिन्, ‘उहाँलाई सुनियोजित ढंगले पक्राउ गरिएको छ ।’

अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई ९ वर्षदेखि फरार भनिएको तर त्यस बीचमा उनले अन्य पार्टीबाट मेयर र प्रदेशसभाको निर्वाचनसमेत लडेको बताउँदै भनिन्, ‘त्यो बेला फरार नहुने अहिले नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर माननीय भइसकेपछि फरार भन्ने हुन्छ ?’
निर्वाचित सांसदलाई फरारसूचीमा राखेर पक्राउ गर्नुले सरकारका विषयमा सोच्न बाध्य बनाएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
२०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
फैसला हुनुअघि नै सरकारले यी लगायतका घटनाको मुद्दा फिर्ता लिने सहमति गरिसकेको थियो । सरकारले मुद्दा फिर्ता लिइसकेको घटनालाई लिएर निर्वाचित सांसद पक्राउ परेको भन्दै नागरिक उन्मुक्तिले आन्दोलनको चेतावनीसमेत दिएको छ ।














