Logo
Logo

सांसद अरुणकुमार चौधरीलाई थुनामा पठाउने तयारी


945
Shares

काठमाडौं । बिहीबार साँझ बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज कैलालीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आज अदालतमा उपस्थित गराइने डिएसपी बेदप्रकाश जोशीले बताए । १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो । मुद्दा परेपछि फरार रहेका भनिएका चौधरीलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको छ ।

अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्ने देखिन्छ । अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ । चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो ।

कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्तान गरेका थिएनन् । पक्राउ परेसँगै उनी सांसदबाट समेत निलम्बनमा परेका छन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्