काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साईट को–अर्डिनेटरमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ छनोट भएका छन् ।
श्रेष्ठ विभिन्न मुलुकका प्रतिस्पर्धीमध्येबाट विभिन्न चरण पार गर्दै ‘ग्लोबल भ्याकेन्सी’अन्तर्गत उत्कृष्ट ठहरिँदै छनोट भएका हुन् । दक्षिणी सुडानस्थित राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा रिक्त पिओसी को-अर्डिनेटर (पी ४)को निम्ति गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको प्रहरी डिभिजनले नेपालको तर्फबाट उनले प्रतिस्पर्धा गरेका थिए ।

यससँगै दक्षिणी सुडानको शान्ति मिसनअन्तर्गत नेपालले इतिहाससमेत रचेको छ । यसअघि उक्त तहका कुनै नेपाली अधिकृत छनोट भएका थिएनन् । श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्पर्धाबाट सो पदमा छनोट भएका अधिकृतहरुमध्ये पहिलो हुन् ।
हाल सशस्त्र प्रहरी बलको कमाण्डेण्ट तालिम केन्द्र पोखरामा कार्यरत श्रेष्ठले यसअघि साउथ सुडान मिसनमा एक वर्ष एफपीयू कमाण्डरको रुपमा काम गरिसकेका छन् भने संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्र संघको सहयोग मिसन इराकमा समेत नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन् ।














