Logo
Logo

नबिकेपछि किसानले सडकमा फ्याँके तरकारी



चितवन । आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।

आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि किसानहरुले आज नारायणगढको पुल्चोकमा विरोधस्वरूप पोखेका हुन् ।

नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ ।

चितवनसहित देशैभर नेपाली किसानले उत्पादन गरेका तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आक्रोश पोखे ।

भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् । भरतपुर महानगर–१६ कि किसान धनु अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाए ।

आफूहरूको समस्यामा सरकार मुकदर्शक भएको बताउँदै तराकारी फालेर विरोध गरेको बताइन् । किसानले सडकमा तरकारी फालेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्