Logo
Logo

एयरलाइन्सहरु नै तिर्देनन् शुल्क, बक्यौता मात्रै ५४ करोड



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको बक्यौता मात्रै ५४ करोड छ ।

हाल सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले १८ करोड र हाल नेपालमा उडान बन्द गरेका एयरलाइन्सहरूको २५ करोड तिर्न बाँकी छ ।

सञ्चालनमा रहेका आन्तरिक एयरलाइन्सको दुई करोड ८७ लाख नौ हजार र बन्द भइसकेका आन्तरिक एयरलाइन्स कम्पनीहरूले आठ करोड ३४ लाख १२ हजार पाँच सय तिरेका छैनन् ।

सञ्चालनमा रहेका आन्तरिक उडान मात्रै गर्नेहरूमध्ये सबैभन्दा धेरै यती एयरलाइन्सले डेढ करोड रुपैयाँ तिर्न बाँकी रहेको स्रोत बताउँछ ।

त्यस्तै, सीता एयरले २९ लाख ३३ हजार सात सय ७२ रुपैयाँ र माउन्टेन हेलिकोप्टरले २२ लाख ७६ हजार चार सय ६९ रुपैयाँ तिर्न बाँकी छ ।

सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सको नौ करोड, एयर इन्डियाको तीन करोड ६९ लाख २५ हजार पाँच सय र सिचुवान एयरलाइन्सको ४७ लाख ४७ हजार तिरेका छैनन्  । एयर एसियाले मात्र १८ करोड ७४ लाख तिरेको छैन ।

विमानस्थल सेवाशुल्क नियमावलीअनुसार एयरलाइन्सहरूले अवतरण, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, हाउसिङ, सञ्चार तथा उड्डयन सहाय सेवा तिर्नुपर्छ । वायुयानको तौलका आधारमा यस्तो शुल्क तोकिएको हुन्छ । यो रकम धेरै एयरलाइन्स कम्पनीहरूले नतिरेको एक कर्मचारी बताउँछन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार किलोग्रासम्मको वायुयानले प्रतिहजार किलोग्रामको एक डलर २५ सेन्ट र एक लाख किलोभन्दा धेरै तौल भएकाको हकमा एक लाख किलोग्रामसम्मको चार सय ७५ डलर तथा त्यसपछिको प्रत्येक हजार किलोग्रामको आठ डलर ५५ सेन्ट अवतरण शुल्क तिर्नुपर्छ । पार्किङ शुल्क पनि वायुयानको तौलअनुसार तय गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्