Logo
Logo

नेपाल-मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी



काठमाडौं । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो ।

यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो ।

सो अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

‘मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘यदि यो विषयमा केही समस्या भएमा कानूनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’

भेटमा प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिए ।

यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्