Logo
Logo

आइसीटिको प्रयोगसँगै जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ- मुख्यसचिव



काठमाडौं । सरकारका मुख्यसचिव शङ्करदास वैरागीले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को योजना पूरा गर्ने गरी काम भइरहेको बताएका छन् ।

सरकारले योजना पूरा गर्ने गरी काम गरे पनि तथ्याङ्क व्यवस्थापन, एकीकृत सूचना प्रणाली र सूचना प्रणालीको सुरक्षालगायत केही चुनौती रहेको उनको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र तराई विकास तथा सञ्चार केन्द्रले संयुक्तरूपमा शुक्रबार आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक अन्तरक्रियामा मुख्यसचिव वैरागीले सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्दै आम जनतालाई केन्द्रमा राखेर काम गर्न सबैमा अनुरोध गरे ।

‘डिजिटल नेपाल’ अवधारणा लागू गर्ने गरी सूचना तथा प्रसारण विभागका सम्पूर्ण सेवा अनलाइनबाटै प्रदान गरिँदै आएको छ । सूचना तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि नीतिगत, कानूनी र संरचनात्मक सुधारलाई सरकारले निरन्तरता दिएको छ ।

सोही अवसरमा अर्थमन्त्रालयका सचिव तोयम रायाले सूचना, सञ्चार प्रविधिको विकाससँगै जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

पन्धौँ आवधिक योजनाले ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई रूपान्तरणकारी आयोजनाका रूपमा लिएको छ । सो रूपान्तरणकारी आयोजनाअन्तर्गत फ्रेमवर्कले यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र कृषि गरी विभिन्न आठ क्षेत्र र ८० वटा क्रियाकलाप तय गरेको थियो । ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ कार्यान्वयनको चरणमा रहेको छ ।

राजधानी दैनिकका सम्पादक सागर पण्डितले सुशासनको निम्ति सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सूचना महामार्ग निर्माणकार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्