काठमाडौं । कर्जा र निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । उनले केही महिनामै ग्राहकले त्यसको अनुभव गर्न पाउने बताए ।
शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमअन्तगएत ‘अर्थतन्त्रका अवरोध’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर ४ प्रतिशतमा झरेको समेत बताए ।

उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा स्थिर ब्याजदरको लिने कि परिवर्तनशील ब्याजदरको भन्ने छनौटको अवसर भएपनि ग्राहकले त्यो नगरिदिँदा बैंकले धेरै ब्याजदर बढाए भन्ने गुनासो आउने गरेको बताए ।
उनले भने, ‘ग्राहकसँग छनौटको पूर्ण अवसर छ । तर, उनीहरूले त्यो विचार नगरी एक शीर्षकमा लिएको कर्जा अर्को क्षेत्रमा लगानी गरिरहेका छन् । यो प्रवृति रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो ।’ बैंकहरूभन्दा धेरै मुनाफा अरु क्षेत्रमा रहेकाले बैंकले नाफामात्र कमाउँछन् भनेर सामान्यीकरण गर्न नहुने गभर्नर अधिकारीको भनाइ छ ।











