काठमाडौं । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य विमानस्थलभित्र व्यवसाय गर्ने चालू र बन्द रहेका कम्पनीहरूको मात्रै ७१ करोड १८ लाख ५५ हजार बक्यौता छ ।
सञ्चालनमा रहेका कम्पनीको ५५ करोड २९ लाख २२ हजार एक सय ९५ र बन्द भइसकेका कम्पनीले १५ करोड ८९ लाख ३३ हजार दुई सय ६९ रुपैयाँ तिर्न बाँकी रहेको विमानस्थित कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

सबैभन्दा धेरै सीता इन्फो नेपालबाट २७ करोड ९२ लाख ३८ हजार उठाउन बाँकी छ । त्यस्तै, रसुवा केडी जेभी (आइएमएस)को १० करोड चार लाख ६९ हजार, युनिभर्सल सप्लाई एजेन्सीको आठ करोड ७२ लाख ७१ हजार र होटेल ¥याडिसनको ६ करोड ८२ लाख७१ हजार बक्यौता छ ।
उड्डयन कार्यालयका अनुसार फुडसिटी नेपाल प्रालिको दुई करोड ८६ लाख १८ हजार, देश प्रेम इ प्रालिको एक करोड ७५ लाख ५५ हजार, ग्रिनलाइन इन्टरनेसनल प्रालिको एक करोड ५९ लाख ५६ हजार, कृष्ण ट्रान्सपोर्टको एक करोड ४६ लाख ५३ हजार, स्वनिङगा सर्भिसको एक करोड २४ लाख ७१ हजार र होटल स्वानिङगा प्रालिको एक करोड २० लाख ६६ हजार बक्यौता छ ।
हाल विमानस्थलमा व्यवसाय गरिरहेका विभिन्न ६५ कम्पनीले पनि उड्डयन कार्यालयलाई तिर्नुपर्ने रकम तिरेका छैनन् सबैभन्दा धेरै विमानस्थलभित्रै रहेको ¥याडिसन होटेलले ६ करोड ८२ लाख ७१ हजार ६ सय ८० रुपैयाँ तिर्न बाँकी छ ।
त्यस्तै, विमानस्थलअगाडिको ५० रोपनी १५ आना जग्गा लिजमा लिएर कम्प्लेक्स र पार्किङ क्षेत्र बनाएको रसुवा केडी जेभीले १० करोड तिर्न बाँकी छ ।
हाल आइएमएस एयरपोर्ट सर्भिस प्रालिका नाममा सञ्चालन भइरहेको सो कम्पनीले भाडामा विवाद गरी अदालतमा मुद्दा हालेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलभित्र १८ वटा सरकारी कार्यालय छन् । उनीहरूले पनि नागरिक उड्डयन कार्यालयलाई भाडा तिरेका छैनन् । १८ वटा सरकारी कार्यालयको ५७ करोड पाँच लाख दुई हजार बक्यौता छ । त्यसमध्ये भन्सार कार्यालयले मात्र ५६ करोड १० लाख ३९ हजार तिर्न बाँकी छ ।
त्यस्तै नेपाल आयल निगमले ६ लाख ७९ हजार तिर्न बाँकी रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । त्यस्तै, पशु क्वारेन्टिन कार्यालय, बिमा संस्थान, श्रम डेस्क, हुलाक कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरी, अध्यागमन कार्यालय, नेसनल ट्रेडिङ, परराष्ट्र मन्त्रालयको पनि बक्यौता रहेको छ ।
५१ कम्पनी सम्पर्कविहीन
विगतमा विमानस्थलमा व्यवसाय गरेका र हाल बन्द रहेका ५१ कम्पनीले विमानस्थललाई भाडा तिरेका छैनन् । उनीहरूको बक्यौता १५ करोड ८९ लाख ३३ हजार छ । जसमध्ये सबैभन्दा धेरै युनिभर्सल सप्लाई एजेन्सीले आठ करोड ७२ लाख ६१ हजार तिरेको छैन ।
त्यसपछि देश प्रेम प्रालिको एक करोड ७५ लाख ५५ हजार, ग्रिनलाइन इन्टरनेसनलको एक करोड ५९ लाख, कृष्ण ट्रान्सपोर्टको एक करोड ४६ लाख ५३ हजार बक्यौता छ ।
हाल विमानस्थलसँग सम्पर्कमा नरहेका ती कम्पनीका सञ्चालकहरूको सम्पत्ति खोजी गरी रोक्का राख्नेबारे छलफल भएपनि त्यससम्बन्धी प्रक्रिया सुरु नभएको नागरिक उड्डयन कार्यालय स्रोत बताउँछ ।
नागरिक उड्यन कार्यालयले बक्यौता उठाउन चाहे उनीहरुको सम्पत्ति रोक्का समेत गर्न सक्छ । तर, त्यस्ता कम्पनीले कर्मचारीलाई नै प्रभावमा पारेर बक्यौतामा चासो दिएका छै्रनन् ।














