Logo
Logo

महेन्द्रले पत्याएका हिमालय शमशेर : २९ वर्षमै पहिलो गभर्नरदेखि भारु विस्थापनसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । लामो समयदेखि श्वासप्रस्वासमा समस्या झेल्दै आएका जबराको काठमाडौँस्थित नर्भिक अस्पतालमा आज बिहान ६ः ३० निधन भएको हो ।

सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका जबराकाे आज स्वस्थानी पूर्णिमाकै दिन निधन भएको छ । उनका छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्- ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ ।’

उनको आजै पशुपति आर्यघाटमा अत्यष्टी गरिने छ । १४ वर्षमा मेट्रिक पास गरेका उनी २००७ सालमा नेपाल सरकारको अर्थसचिव हुँदै २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त भएका थिए ।

उनले २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा काम रहेका थिए । राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा जबराको उमेर २९ वर्ष मात्र थियो ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत उच्च पदमा रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा काम गरेका थिए । उनले गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल भएका थिए ।

भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न वास्तवमै निकै कठिन थियो । तर, उनले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरेर भारु १ सय रुपैयाँको एक सय ६० रुपैयाँ हुने गरी सटही दर निर्धारण गरेकाे थिए ।

त्यतिखेर राखिएको भारतीय रुपैयाँको विनियम दर अहिलेसम्म पनि कायम छ । राष्ट्र बैंकबाट रिटायर्ड भएपछि उनी निष्क्रिय बसेनन् । उनले व्यवसायमा हात हाले ।

जागिरबाट अवकाश पाएपछि व्यवसायमा हात हालेका जबराले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरे । गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग वियर उनैले नेपाल भित्र्याएका हुन् ।

त्यस्तै गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोलेका जबराले जापान सरकारबाट उच्च श्रेणीको ‘द अर्डर अफ द राइजिङ सन’को ‘गोल्ड एण्ड सिल्भर’ अवार्डसमेत पाएका थिए ।

त्यतिमात्र होइन उनले किताब समेत लेखेका छन् । ‘क्रोनिकल अफ दी राणाज’ । उक्त किताबमा जंगवहादुरदेखि मोहनसमशेरसम्मको समयमा भएका दरवारको आर्किटेक्चरबारे वर्णन गरिएको छ । ९५ वर्षीय जबराका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्