काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाउँदा छटपटाइरहेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले कांग्रेसमाथि यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले गत पुस १० गते आफ्नो पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेयता कांग्रेसमा सत्ताको छटपटी भएको बताए । उनले भने, ‘निर्वाचनको परिणामपछि कांग्रेसले सरकार बनाउने पहलकदमी लिन सकेन । त्यहीकारण मैले पहलकदमी लिएर सानासहितका दलहरु जुटाएर सरकार बनाएका हौँ । यो सरकार बनेदेखि देशमा उत्साह जागेको छ ।’
ओलीले कांग्रेसले संसदमा विचित्रको भूमिका खेलेको समेत बताए । प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमालेका उम्मेदवारविरुद्ध उम्मेदवार उठाएको प्रसंग जोड्दै उनले भने, ‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन ।’
अध्यक्ष ओलीले अहिले कांग्रेसले आफूलाई न सत्ता पक्ष, न प्रतिपक्ष भन्न नसकेर पानीबाहिरको माछा जस्तै भएको बताए । साथै, उनले कांग्रेसले आफूले जितेमा मात्र लोकतन्त्र हुने बताउँदै भने, ‘कांग्रेसले आफूलाई लोकतन्त्रको पर्यावाची ठान्छ । कांग्रेसमा यो भ्रम छ ।’














