Logo
Logo

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० फागुनमा


567
Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीको आइतवार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

प्रवक्ता खतिवडाले भने, ‘संगठनलाई सुदृढीकरण गर्नका लागि हामीले अबको जेठ महिना सम्मका लागि स्थानीय पार्टी कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुन महिनामा जिल्लाहरुले गर्दै, त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठ महिनासम्म पुग्दा प्रदेशको कमिटीहरुले आफ्नो कमिटी गठन पूनर्गठन गरिसक्नेछन् । आउँदो अर्को वर्षको फागुन भित्रमा हामी पार्टीको राष्ट्रिय महाधिवेशन गर्छौं भन्ने हामीले कार्ययोजना दिएका छौं।’

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित हुने बताए ।

त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ। कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताए।

बैठकमा नेताहरुले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्