
काठमाडौं । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । सोमबार बेलुका बालकोट पुगेर विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरूको नयाँ आधारमा धुर्वीकरणको आवश्यकता र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।
महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारे चासो राखेका थिए ।ओलीले तीन बुँदे सहमतिअनुसार बन्दीहरूको रिहाइ र मुद्दा फिर्ताको विषयमा आफू सकारात्मक रहेको जवाफ फर्काएको नेकपाका एक नेताले जानकारी दिए ।
विप्लवले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । ओली नेतृत्वकाे सरकारसँग तीनबुँदे सहमति गर्दै हिंसात्मक गतिविधि त्यागेर विप्लव मूलधारको राजनीतिमा आएका थिए । तर, हालसम्म पनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन ।














