Logo
Logo

निमित्त प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी निरीक्षक आधारभूत तालिमकाे उद्घाटन


1.6k
Shares

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘पोष्ट ग्राजुट डिप्लोमा इन पुलिस साइन्स (पीजीडीपीएस) कार्यक्रम समावेश प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूहको १३औं ब्याचको बुधबार उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत संचालित यो कोर्सबाट सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरूदण्ड भएकोले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम भूमिका निर्वाह गर्ने चर्चा गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रशिक्षार्थीहरूले यस्तो महत्वपूर्ण जिम्मेवारीलाई हृदयङ्गम गर्दै भविष्यमा कुशल प्रहरी अधिकृतको रूपमा व्यावसायिक कार्यसम्पादन गरी संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रुपान्तरणका लागि पूर्ण वफादारिताका साथ तालिम सम्पादन गर्ने विश्वास लिएको बताए ।

अहिलेको बदलिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै वर्तमान समयमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरू बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्ने हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले प्रतिष्ठानले विशेष अभिरूचि र प्रभामिकताका साथ हेर्ने गरेको उनले बताए ।

साथै, निमित्त प्रहरी महानिरीक्षक थापाले तालिम मापदण्ड बमोजिम सरल, सहज र प्रभावकारी ढंगबाट प्रशिक्षण संचालनको व्यवस्थापन मिलाउन तथा अथक मेहनत, परिश्रम र लगावका साथ कटिवद्ध हुन प्रतिष्ठानमा कार्यरत प्रशिक्षक वर्गहरूलाई आग्रह गरे ।

प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण याकलापमहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिएका थिए ।

उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १० जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३९ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्