Logo
Logo

मामा माइजुलाई बुबाआमा बनाएर नेपाली नागरिकता लिन खेज्ने भारतीय युवक पक्राउ



काठमाडौं । मामा माइजुलाई बुबाआमा बनाएर नेपाली नागरिकता लिन खेज्ने एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको मानिकचोक पश्चिमी पञ्चायत वडा नम्बर–१० बस्ने धर्मेन्द्र कुमार साहका १८ वर्षीय छोरा आकाश कुमार साह छन् ।

महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माइजु उर्मिला देवी साहलाई बुबा–आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई नायब सुब्बा भरत यादवले शंका लागेर सोधपुछ गरेका थिए ।

त्यही क्रममा उनी भारतीय नागरिक रहेको भेटिएपछि पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

नागरिकताका लागि आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेका आकाशको शैक्षिक प्रमाण पत्र भारतीय रहेको देखेपछि कर्मचारीले शंका लागेर नागरिकता दिएका थिएनन् ।

कर्मचारीले उनका बुवा बनेर आएका मामा राजकिशोरसँग सनाखत गराएर सोमबार नागरिकता दिने भनी फर्काएका थिए ।

सोमबार दिउँसो २ बजे आकाश नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्दा नासु यादवसहितले उनीसँग सोधपुछ गर्ने क्रममा उनी भारतीय नागरिक ठहरिएपछि तत्कालै पक्राउ गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाण पत्र लिन खोजेका युवक आकाश, नागरिकता बनाउन सिफारिस गरेका वडाध्यक्ष झा र जन्मदर्ता बनाउने वडा सचिव लाललाई कार्यालयको मुद्दा शाखामा राखेर बयान लिएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्