Logo
Logo
टिप्पणी

कागजको ‘श्रीपेच’ जस्तो उपप्रधानमन्त्री पद



काठमाडौं । मंसिर ४ को आम निर्वाचनपछि उपप्रधानमन्त्री माग गर्दै सरकारमा जान सत्ता साझेदार साना दलका सभापति, अध्यक्ष वा मूल नेतृत्वदेखि ठूला दलका पटक–पटक मन्त्री भइसकेका वरिष्ठमा गनिने हैसियतवाला नेताहरूसमेत तँछाडमछाड गरेको देखियो ।

अझै यही मौकामा अवसर छोप्न बार्गेनिङ गरेको परिदृश्य हेर्न लायक छ । उपप्रधानमन्त्री पद नवउदीयमान साना दलका लागि अझै प्रतिष्ठाको विषय बनेको छ ।

संवैधानिक र कानुनी हैसियत नखुलेको, मन्त्रीभन्दा माथिल्लो त्यस्तो कुनै विशेष शक्ति, गहकिलो जिम्मेवारी नभएको उपप्रधानमन्त्री पदप्रति राजनीतिक दल र नेताहरुको यतिबिघ्न आकर्षण र आशक्ति हुनुले नेपाली राजनीतिमा लाजमर्दो अवस्था देखिएको छ ।

खासगरी पार्टीभित्र दोस्रो तेस्रो तहमा रहेका अहिले नै प्रधानमन्त्री बन्ने लाइनमा नरहेका र बन्ने सम्भावना कम भएका प्रभावशाली नेताहरूमा उपप्रधानमन्त्री बन्ने होड र आकांक्षा अझै चर्को देखिन्छ ।

यसैमा पनि गठबन्धन सरकार निर्माणमा संख्यात्मक हिसाबले महत्वपूर्ण साना एवं क्षेत्रीय दलभित्र अध्यक्ष तथा वजनदार नेताहरूको पनि उपप्रधानमन्त्री बनेर सरकारमा जाने उत्कण्ठा बोक्नेको लामै लर्को छ ।

नयाँ मन्त्रिमण्डल गठन र पुनःगठनसँगै फेरि पनि उपप्रधानमन्त्रीको संख्या बढ्ने सम्भावना छ । मुलुकको आवश्यकताभन्दा पनि गठबन्धन बनाउन र बचाउन, निश्चित पार्टी र नेताहरुको स्वार्थपूर्तिका लागि उपप्रधानमन्त्री पद बाँडेको देखिन्छ ।

संसारका धेरैजसो मुलुकमा उपप्रधानमन्त्री बनाउने चलन वा व्यवस्था नै छैन । विश्व राजनीतिका महत्वपूर्ण शक्ति राष्ट्रहरुलगायत छिमेकी भारत र चीनमा पनि उपप्रधानमन्त्री पदलाई खासै महत्व दिइएको र प्रचलनमा ल्याएको पाइँदैन ।

भारतको ७५ वर्षको राजनीतिक इतिहासमा जम्मा ६ जनामात्र उपप्रधानमन्त्री भएका छन् । सन् २००४ मा लालकृष्ण आडवाणीपछि अहिलेसम्म कसैलाई पनि उपप्रधानमन्त्री बनाइएको पाइँदैन । खासमा मर्यादाक्रम वा वरियतामा अगाडि देखिनेबाहेक अन्य मन्त्रीको भन्दा उपप्रधानमन्त्री पदको खासै फरक भूमिका हुँदैन ।

विशेष सुविधा र जिम्मेवारी पनि हुँदैन । प्रधानमन्त्री देश बाहिर गएको, अस्वस्थ वा अशक्त रहेको वा दिवंगत भएको अवस्थामा कार्यवाहकको रुपमा काम गर्नेबाहेक यो पदको अरु काम देखिँदैन ।

उपप्रधानमन्त्री पद एकपटक भइसकेपछि वरिष्ठताकै कारण फेरि दोहो¥याएर मन्त्री बन्ने सम्भावना कम हुन्छ । उपप्रधानमन्त्री बन्नु वा बनाइनु भनेको प्रधानमन्त्रीको लाइनमा बसेको, त्यसका लागि लागि योग्य बनेको र पूर्वशर्त पूरा भएको भन्ने आम बुझाइ छ, यो पनि गलत हो ।

उपप्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बन्न पाइन्छ । प्रधानमन्त्री बन्न उपप्रधानमन्त्रीको अनुभव लिएको हुनुपर्ने कुनै प्रावधान संविधान र कानुनमा कतै छैन । मापदण्ड पनि छैन । चुनाव जितेर संसद्मा बहुमत जुटाउन सके सिधै प्रधानमन्त्री बन्न पाइन्छ ।

२०४६ सालपछि अहिलेसम्म लगभग ३२ जना उपप्रधानमन्त्री भए । उपप्रधानमन्त्री भएकामध्ये अहिलेसम्म माधवकुमार नेपाल, केपी शर्मा ओली र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका दृष्टान्त छन् ।

२०१७ को शाही कदम र राजाको सक्रिय शासनकालमा २०२३ सालअघि मन्त्रिपरिषद् उपाध्यक्षका रुपमा राजा महेन्द्रले डा. तुलसी गिरी, सूर्यबहादुर थापा र कीर्तिनिधि विष्टलाई नियुक्त गरे पनि त्यसपछि सिंगो पञ्चायतकालभरि कसैलाई उपप्रधानमन्त्री बनाएको पाइँदैन ।

२०४७ मा स्थापित बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा मनमोहन अधिकारीले २०५१ मा एमालेको नौ महिने अल्पमत सरकारमा माधवकुमार नेपाललाई उपप्रधानमन्त्री बनाएर यो चलनको सुरुआत गरिएको थियो । २०५३ मा लोकेन्द्रबहादुर चन्दले वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाएका थिए ।

त्यसैगरी २०५५ मा गिरिजाप्रसाद कोइरालाले शैलजा आचार्य र २०५६ जेठमा कृष्णप्रसाद भट्टराईले पनि आफ्नो सरकारमा रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाए ।

२०५६ चैतमा गिरिजाप्रसाद कोइरालाले पनि रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाएका थिए । त्यसपछि २०५९ मा लोकेन्द्रबहादुर चन्दले बद्री मण्डल र २०६१ मा शेरबहादुर देउवाले भरतमोहन अधिकारीलाई आफ्नो सरकारमा उपप्रधानमन्त्री बनाएका थिए ।

२०६१ माघमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका डा. तुलसी गिरी र कीर्तिनिधि विष्ट मन्त्रिपरिषद् उपाध्यक्ष बनाइए । २०६२–०६३ को सफल जनआन्दोलनपछि बनेको गिरिजा सरकारमा अमिक शेरचन र खड्ग ओलीलाई उपप्रधानमन्त्री बनाइएको थियो । यसबेलासम्म देशले १० जना उपप्रधानमन्त्री पाइसकेको थियो ।

लगत्तै २०६३ चैतमा गठित गणतन्त्रपछिको पहिलो गिरिजाप्रसाद नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री भइसकेका नेता रामचन्द्र पौडेल पहिलो र साहना प्रधान दोस्रो वरियतासहित मन्त्रीका रुपमा थिए । कसैलाई उपप्रधानमन्त्री बनाइएन । उपप्रधानमन्त्री भइसकेको मान्छेले मन्त्रीमा झरेर पद खायो भनेर रामचन्द्र पौडेलको आलोचना पनि भयो ।

संविधानसभा चुनावपछि बनेको प्रचण्ड सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतम र डा. बाबुराम भट्टराई दुई जनालाई उपप्रधानमन्त्री बनाए । यसपछि देशमा एउटै सरकारमा धेरै जना उपप्रधानमन्त्री बनाउने परम्परा बस्न थाल्यो । प्रचण्डपछिका माधव नेपालले विजय गच्छदार र सुजाता कोइराला २ जनालाई उपप्रधानमन्त्री बनाए ।

त्यसपछि प्रधानमन्त्रीमा झलनाथ खनालको आगमनपछि त उपप्रधानमन्त्रीको लर्को नै सुरु भयो । खनाल प्रधानमन्त्री भएका बखत् भरतमोहन, कृष्णबहादुर महरा र उपेन्द्र यादव ३ जना उपप्रधानमन्त्री बनाइए ।

डा.बाबुराम भट्टराईको पालामा त उपप्रधानमन्त्रीमा लाइन नै लागेको देखिन्छ । सुरुमा विजय गच्छदार र नारायणकाजी श्रेष्ठलाई पछि कृष्ण सिटौला र ईश्वर पोखरेललाई थप गरी एउटै सरकारमा ४ जना उपप्रधानमन्त्री बनाइए ।

२०६९ मा खिलराज रेग्मीको अन्तरिम चुनावी सरकारमा उपप्रधानमन्त्री राखिएन । त्यसपछि प्रधानमन्त्री बनेका सुशील कोइरालाले वामदेव र प्रकाशमान दुई जनालाई उपप्रधानमन्त्री बनाए । त्यसपछि प्रधानमन्त्री बनेका खड्गप्रसाद शर्मा ओलीको समयमा झन् अहिलेसम्मकै सबै कीर्तिमान तोडियो ।

एउटै सरकारमा विजय गच्छदार, कमल थापा, टोपबहादुर रायमाझी, भीम रावल, सिपी मैनाली र चित्रबहादुर केसीसमेत ६ जना उपप्रधानमन्त्री बनाइए ।

ओलीपछि प्रधानमन्त्री बनेका प्रचण्डले विमलेन्द्र निधि र कृष्णबहादुर महरा २ जनालाई उपप्रधानमन्त्री बनाए । शेरबहादुर देउवा प्रधानमन्त्रीमा आएपछि विजय गच्छदार, कमल थापा, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ ४ जनालाई उपप्रधानमन्त्री बनाइयो ।

२०७४ मा पुनः प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारमा सुरुमा ईश्वर पोखरेल १ जनामात्र बनाए पनि २०७८ को पुनःगठनमा विष्णु पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाइयो ।

नेकपा विभाजनपछि शेरबहादुर देउवा नेतृत्वमा बनेको पाँच दलको गठबन्धन सरकारमा कसैलाई उपप्रधानमन्त्री बनाइएन । गत मंसिर ४ को निर्वाचनपछि पुस १० मा गठित प्रचण्ड नेतृत्वको सरकारमा विष्णु, पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन् ।

गणतन्त्र आइसकेपछि हालसम्म लगभग २२ जना नेताहरू उपप्रधानमन्त्री भइसकेका छन् । केही भने उपप्रधानमन्त्री पदमा पटक–पटक दोहोरिएका छन् । महिलाबाट अहिलेसम्म नेपाली कांग्रेसबाट शैलजा आचार्य र सुजाता कोइराला उपप्रधानमन्त्री बनेको पाइन्छ ।

हैसियत र औचित्य भएर पनि तत्कालीन वाममोर्चाको अध्यक्ष र वरिष्ठतम एमाले नेतृ साहना प्रधान मन्त्री बने पनि उपप्रधानमन्त्री बनेका थिएनन् । यद्यपि उनीहरुभन्दा कनिष्ठ नेताहरू भने पटक–पटक उपप्रधानमन्त्री बनेको पाइन्छ ।

व्यक्तिको भन्दा मुलुकको विशेष आवश्यकताका कारण प्रधानमन्त्री सरहकै मर्यादा दिनुपर्ने योग्यता, विशेषता भएको महत्वपूर्ण व्यक्तिलाई मन्त्रिमण्डलमा समावेश नगरी नहुने अवस्थामा एक जनासम्म उपप्रधानमन्त्री बनाउने कुरालाई स्वभाविक मान्न सकिएला ।

अन्यथा, बैठक र कार्यक्रममा एकसाथ रहे भएको अवस्थामा नाम लेख्दा र सँगै बस्दा देखावटी वरिष्ठता या मर्यादाक्रममा अरुभन्दा अगाडि पर्ने कुराका लागि मात्र उपप्रधानमन्त्री बन्न र बनाउन मरिहत्ते गर्नु उचित होइन ।

तत्कालीन विशेष परिस्थितिमा २०१५ सालमा प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष भइसकेका सुवर्णशम्शेर राणा आमनिर्वाचनपछिको प्रथम जननिर्वाचित बिपी कोइरालाको विशेष आग्रहमा सरकारको उपप्रधानमन्त्री बन्न राजी भएको इतिहास पनि हाम्रै छ । २००७ देखि २०१७ सालको अवधिमा उपप्रधानमन्त्री बन्ने उनी एक्लो नेता थिए ।

पछिल्ला दिनमा झन् सत्ता साझेदारीको नाममा कसैको चित्त बुझाउन उपप्रधानमन्त्री पद नै अत्यन्त वजनहिन बनाइयो । यसले उल्टो उपप्रधानमन्त्री पदको महत्व र गरिमा खस्केको छ । यतिमात्र होइन, समग्र राजनीतिक व्यवस्था र नेतृत्वप्रतिसमेत वितृष्णा र आक्रोश बढाउने काम भएको छ ।

आगामी दिनमा यसलाई नेपाली राजनीतिको विकृत पाटोको रुपमा स्वीकार गरेर यस्तो परिपाटी र प्रवृत्तिमा सुधार ल्याउनुपर्ने जरुरी छ । यस्तो बेथितिमा अंकुश लगाउनु पर्छ । अब उपप्रधानमन्त्री पदका लागि निश्चित संख्या र मापदण्डको संवैधानिक एवं कानुनी व्यवस्था गर्नु आवश्यक भइसकेको छ ।

सरकार बनाउने र जोगाउने नाममा सरकारमा जाने राजनीतिक दलपिच्छे भागबन्डास्वरुप एक एक जना उपप्रधानमन्त्री बनाउने चलन र परम्परालाई निरन्तरता दिँदै जानु सर्वथा अनुचित र निन्दनीय हो । लोकतन्त्रमा यो लज्जाजनक कुरा हो ।

राजनीतिक होस् या नैतिक, कुनै पनि हिसाबले एउटा मन्त्रिमण्डलमा धेरै जना उपप्रधानमन्त्री बनाउनुको कुनै औचित्य सावित हुँदैन । पछिल्ला दृश्य र घटनाक्रमले पुराना मात्र होइन नयाँ पनि उस्तै देखिन थालेसँगै आलोचना पनि सुरु हुन थालेको छ । आइन्दा नागरिक आवाज सुनेर नयाँ, पुराना, साना ठूला सबै दल र तिनका नेताहरू सच्चिँदै सत्ताभोगी पदलोलुप मनोविज्ञान बदल्न तयार हुनु जरुरी छ ।

बुझ्नैपर्ने तथ्य के हो भने प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रहेको उपप्रधानमन्त्रीसहित अन्य उपप्रधानमन्त्रीहरुको हैसियत अन्य मन्त्री जत्तिकै हो । यो भन्दा केही फरक छैन । देख्दा सुन्दा ठूलो, महत्वपूर्ण, शक्तिशाली लागे पनि अन्ततः यो मन्त्रीसरहकै पद हो ।

मन्त्रालय नहुने हो भने बिनाविभागीय उपप्रधानमन्त्री पदको कुनै काम र हैसियत हुँदैन । रक्षासहित उपप्रधानमन्त्री भएका ईश्वर पोखरेललाई विवादमा तानिएपछि केपी ओलीले मन्त्रालयको जिम्मेवारी हटाएर प्रधानमन्त्री कार्यालयको एउटा कोठामा कार्यालय खडा गरी उपप्रधानमन्त्री कायमै राखेका बखत उनी बेकम्मा भएको घटनाले पनि उपप्रधानमन्त्री पदको हैसियत प्रष्ट भएको उदाहरण ताजै छ ।

विशेष व्यवस्था र निश्चित जिम्मेवारी तोकेर छुट्टै कार्यालय संरचना खडा गरेर काममा लगाइयो भने बेग्लै कुरा होला । नत्र कागजको ‘श्रीपेच’ जस्तो उपप्रधानमन्त्री पदका लागि मरिहत्ते गर्नु व्यर्थ छ ।

प्रतिक्रिया दिनुहोस्