Logo
Logo

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकता : उपप्रधानमन्त्री नारायणकाजी



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन् ।

आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन)को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको बताए ।

‘विकास, समृद्धि र सुशासन प्रवद्र्धन लहडको कुरा होइन, तसर्थ सरकार स्पष्ट नीति अख्तियार गरेर यी क्षेत्रका उपलब्धि हात पार्न प्रयत्नशील छ’, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

आमरूपमा राजनीति क्षेत्रमा वैचारिक आन्दोलन स्खलित हुँदै गएर समाज रुपान्तरणको आन्दोलन भुत्ते भएको गुनासो बढेका बेला अहिले ठोस उपलब्धि हासिल गर्ने काम कुरालाई चुनौतीका रूपमा लिँदै सरकार अघि बढेको श्रेष्ठको भनाइ छ ।

गौरीडाँडास्थित आधारशीलाका प्रमुख संरक्षक रहनुभएका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन (आधारशीला) स्थापना गरिएको स्मरण गरे ।

‘त्यतिखेर वाम–प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवार, जेलनेल भोगेर दुःख पाएका कार्यकर्ताका परिवारजन, वैचारिक आन्दोलनको नेतृत्वकर्ता पार्टीका पूर्णकालीन कार्यकर्ताका परिवारलाई शिक्षा, स्वास्थ्य, भोजन र आवासजस्ता प्राथमिक आवश्यकता हेर्दै अघि बढ्ने सोचेका थियौँ’, आधारशीला स्थापनाको पृष्ठभूमि स्पष्ट पार्दै श्रेष्ठले भने, ‘सामूहिक जीवन पद्धतिमा आपूmलाई ढाल्ने र निजी सम्पत्तिको मोह त्याग गर्ने सोचका साथ गठित यो संस्था समाजमा अनुकरणीय बन्न सके बढ्दो भ्रष्टीकरण न्यूनीकरणमा साथ सहयोग पुग्नेछ ।’

आधारशीलाले मुख्यतः यही वैचारिक फाँटको काम हेरिदेओस् भन्ने आफ्नो अपेक्षा रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्