
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने कार्यसूची भए पनि निर्णायक मानिएको नागरिक उन्मुक्तिले आफ्ना माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान दोहोर्याएको हो । नागरिक उन्मुक्तिले टीकापुर घटनाका दोषी रेशम चौधरी लगायत ६ नेताको रिहाइ मुख्य शर्त बनाएको छ ।
पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग बुधबार साँझ लामो छलफल गरेकी थिइन् । तर, उक्त छलफल पनि सकारात्मक नभएकाले नाउपा विश्वासको मत नदिने निष्कर्षमा पुगेको हो ।
अध्यक्ष श्रेष्ठले आफूहरुले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताइन् । ‘हामीले समर्थन गरेर हेर्यौं, हाम्रा माग सुनुवाइमा कुनै पहल भएको छैन । एमाले अध्यक्ष ओलीजीसँग् पनि छलफल गरेर हेर्यौं । तर, सकारात्मक सन्देश पाउन सकेनौं । हाम्रा सांसदहरु आज तटस्थ बस्नुहुन्छ,’ उनले भनिन् ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार आजै ढल्नेछ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी कुल २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त भएका थिए ।
रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) बमोजिम १९ सांसदसहित ठूलो दल रहेको नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।














