काठमाडौं, २८ असोज ।
गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको भन्दै उनीहरूले आइतबार बेलुका डेस्क तोडफोड गरेका हुन् । तोडफोडमा उत्रिएका एनआरएनए रमेशकुमार थापालाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ । यो घटनाले एनआरएनकै बेइज्जत भएको छ ।

पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । तोडफोड गर्ने थापालाई पक्राउ गरिएको र उनका अन्य चार साथीको कागजपत्र लिइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो । जरिवाना गरेर उनलाई मंगलबार छाडिने विभागका महानिर्देशक पौडेलले बताए । उनलाई छाड्न एनआरएका नेताहरूले अध्यागमन अधिकारीहरूलाई दबाब दिएका थिए । मंगलबारदेखि एनआरएनको नवौँ अधिवेशन काठमाडौंमा सुरु भएको छ । जसका लागि करिब दुई हजार प्रतिनिधि काठमाडौं आइसकेका छन् । यो घटनाको बारेमा सम्मेलनमा समेत चर्चा भइरहेको छ ।
यसरी भयो घटना
आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका कारण साँझ आउने विमान राति आएका थिए । जसकारण बेलुका अबेरसम्म अध्यागमनमा भिडभाड थियो । अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाउने सार्क राष्ट्र तथा चिनियाँ र अन्य विदेशीका लागि छुट्टाछुट्टै डेस्क हुन्छ ।
उनीहरू नेपाली मूलका अस्ट्रेलियन नागरिक हुन् । उनीहरूसँग एनआरएनए कार्डसमेत थिएन । पर्यटक भिसामा नेपाल प्रवेश गर्न लागेका थिए । जसकारण उनीहरू अन्य विदेशी पर्यटकजस्तै लाइनमा बस्नुपर्ने थियो । लाइन लामो थियो । निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनीहरूले त्यहाँ गएर आफूहरूलाई छिटो भिसा दिन दबाब दिएका थिए ।
सो डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेकी थिइन् । त्यही क्रममा एक भारतीय सो डेस्क हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीमाथि अपशब्द बोलेका थिए । लगत्तै अध्यागमन कर्मचारीले प्रहरी बोलाएर उनलाई पक्राउ गरेका थिए । अभद्र व्यवहार गर्नेमा एक महिला समेत थिइन् । उनले अध्यागमन कर्मचारीलाई माँझिऔला देखाएकी थिइन् ।












