Logo
Logo

सहरिया र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको माओवादीको निष्कर्ष


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । चुनावी गठबन्धनमा रहेका कांग्रेसको भोट ट्रान्सफर नभएको निष्कर्ष निकालेको हो । साथै, आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको समेत माओवादीको बुभलाइ छ ।

केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘यसपटक चुनावी गठबन्धनमा कांग्रेससँग सहकार्य भयो । यतिबेला अर्थात् २०७९ मा ११ लाख ७५ हजार मतमा १८ सीटमा सीमित भयौँ । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र हामी निल भयौँ । यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ ।’

आठौँ महाधिवेशनमा आइपुग्दा वैचारिकरूपमा केही हदसम्म प्रगति भएपनि त्यसको कार्यान्वयनमा संगठनात्मक क्षेत्रमा व्यवस्थित र सुदृढ गर्ने कार्य हुन नसकेको माओवादीको बुझाइ छ ।

प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा जुनजुन प्रदेश र जिल्लाहरूमा पार्टीमा एकरूपता र सहमतिको साथ निर्वाचन प्रक्रियामा सहभागी भयौँ त्यहाँ सकारात्मक परिणाम हाँसिल भयो । जुन प्रदेश र जिल्लाहरूमा पार्टी एकता र सहमति देखिएन । त्यहाँ प्रतिस्पर्धा आम निर्वाचन जित्ने जिताउने भन्दा एक आपसमा एक अर्कोलाई हराउनेतिर उन्मुख भएको पाइयो ।’

जनमत तुलनात्मकरूपले राम्रो रहेको निर्वाचन क्षेत्रहरू गठबन्धनभित्रका अरू दलहरूलाई छोड्नुपर्ने बाध्यता र जनाधार नै नभएका कतिपय क्षेत्रहरू लिने रुचिले परिणाममा थप गम्भीर असर परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘अझ गम्भीर कुरा त के रह्यो भने गठबन्धन दल मुख्यतया नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुने समस्या हाम्रो परिणामका लागि जिम्मेवार बन्न पुग्यो । यस चुनावी समीक्षाका बारेमा सबै जिल्ला र प्रदेशहरूको रिपोर्ट प्राप्त भएपश्चात पार्टी केन्द्र कार्यालयले विस्तृत समीक्षाको रिपोर्ट तयार पारेपश्चात् आवश्यक निर्णयमा पुग्नु पर्दछ ।’

पार्टीको आन्तरिक जीवन र राजनैतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने अवसर फेरि आएको माओवादीको निष्कर्ष छ ।

पार्टीको समग्र वैचारिक–राजनैतिक–सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नुपर्ने उल्लेख गर्दै संरचनागत, विधि र पद्धति, नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई प्रतिस्पर्धाक ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्ने माओवादीले आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्