Logo
Logo

रवि लामिछानेको राहदानीबारे अनुसन्धान सुरु


1.5k
Shares

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा अनुसन्धान सुरु गरेको छ । कार्यालयले यही २४ माघ रवि लामिछानेको राहदानी सम्बन्धमा जाहेरी परेको थियो । सो विषयमा तीन निकायमा पत्रचार गरी कागजात कार्यालयले मगाएको हो ।

कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा पत्र पठाएर आवश्यक कागजात मगाएको जनाएको छ । नागरिकता विवादमा यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको सांसद, मन्त्री पद खारेज गरिदिएको थियो ।

सर्वाेच्चले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवतः रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार उनको सांसद, मन्त्री पद खारेज हुने फैसला गरेको हो ।

रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपालमा आएरु राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको थियो ।

लामिछानेको राहदानी सम्बन्धमा छानबिन गरिपाउँ भनेर युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार निवेदन पेस गरेका थिए ।

उनले जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको निवेदनमा भनिएको, ‘रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)को व्यवस्थाअनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई पाउँ ।’

लामिछानेले अमेरिकी नागरिक बनेपछि कायम नरहेको २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी नागरिकता प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए ।

उनले त्यतिबेला नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । लामिछाने चितवन २ बाट सांसद निर्वाचित भएपछि राहदानीको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्