
काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरू हुँदैछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको छ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
शुक्रबार र शनिबार दुई दिन चल्ने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।














