काठमाडौं, २९ असोज
भिसा लिन लामो लाइनमा बस्नु परेको भन्दै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमन ’डेस्क’ तोडफोड गर्ने गैरआवासीय नेपाली संघ (एनआरएन) एक प्रतिनिधिलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । नेपाली मूलका अष्ट्रेलियन नागरिक रमेशकुमार थापालाई विभागले जरिवाना गरी अबदेखि यस्ता गतिविधि नगर्ने कागज गराइ छाडेको हो ।
पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । उनलाई आइतबार नै थुनामा राखिए पनि मंगलबार धरौटीमा छाडिएको हो ।
अध्यागमन नियावमालीअनुसार ५० हजार जरिवाना गराइ अबदेखि यस्तो गतिविधि गरे अध्यागमनको कालो सूचीमा राख्ने कागज गराएर छाडिएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । त्यस्तै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने अर्की एनआरएन प्रतिनिधि उषा किरण बरियालाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । उनीहरु एनआरएको नवौं महाधिवेशनमा भाग लिएका नेपाल आएका थिए ।
यस्तो थियो घटना
आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणका कारण साँझ आउने विमान राति आएको थियो । जसकारण बेलुका अबेरसम्म अध्यागमनमा भिडभाड थियो ।
अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाउने सार्क राष्ट्र तथा चिनियाँ र अन्य विदेशीका लागि छुट्टाछुट्टै डेस्क हुन्छ । उनीहरू नेपाली मूलका अस्ट्रेलियन नागरिक हुन् । उनीहरूसँग एनआरएनए कार्डसमेत थिएन । पर्यटक भिसामा नेपाल प्रवेश गर्न लागेका थिए । जसकारण उनीहरू अन्य विदेशी पर्यटक जस्तै लाइनमा बस्नुपर्ने थियो । लाइन लामो थियो ।
निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनीहरूले त्यहाँ गएर आफूहरूलाई छिटो भिसा दिन दबाब दिएका थिए । सो डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेकी थिइन् । सोही क्रममा एक भारतीय नागरिक डेस्क हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीमाथि अपशब्द बोलेका थिए । लगत्तै अध्यागमन कर्मचारीले प्रहरी बोलाएर पक्राउ गराएका थिए ।