
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने बताएका छन् ।
आइतबार बालुवाटारमा सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफल गर्दै उनले सो बताएका हुन् ।
‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्ड फागुन १ गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षणका लागि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जाँदैछन् ।
आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिम जानुअघि उनले सरोकारवालासँग छलफल गरेका हुन् ।














