काठमाडौं । करिब दुई वर्षअघि काठमाडौंको सीतापाइलामा एक युवतीमाथि भएको आक्रमणका योजनाकारलाई ७ वर्ष कैद, १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले उक्त फैसला सुनाएका हुन् ।

गत साता ४८ वर्षीय नेपाली नागरिक मोहम्मद आलम र भारतीय नागरिक फैयाद अन्सारी दोषी ठहर भएका थिए । आलमको योजनामा अन्सारीले एसिड प्रहार गरेका थिए । अन्सारीविरुद्ध ७ वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय हुने भएको हो ।
आलमले ढल्कुस्थित आफ्नो ब्याग गार्मेन्टमा काम गर्ने मजदुरकी बहिनीलाई एसिड आक्रमण गर्न लगाएका थिए । आफूले भनेअनुसार गर्न नमानेपछि ती महिलामाथि एसिड आक्रमण भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
२०७७ साउन ११ गते सीतापाइलामा साँझपख ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । उपचारपछि हाल उनी सामान्य अवस्थामा फर्किएकी छन् ।











