काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतपछि राजनीतिक परस्थिति फेरिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिइरहेको बताए ।
आइतबार पार्टी केन्द्रीय सदस्य सम्मिलित वागमती प्रदेशस्तरीय समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको औचित्यबारे प्रष्टयाएका हुन् ।

‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’
उनले पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको बताउँदै भने, ‘अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ । २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौं, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्नेछौँ ।’
अभियानले पार्टीको अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान गरेर केन्द्रीय समितिको पूर्ण बैठकले व्यापक रुपान्तरण गर्ने उनले बताए ।











