काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । आइतबार निर्वाचन आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिति तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएपछि आयोगले उपनिर्वाचन गर्न लागेको हो ।
आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार चैत २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारबारे दाबी विरोध र दाबी विरोधमाथि अनुसन्धान गरी निर्णय २२ गतेलाई तोकिएको छ ।
यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।












