Logo
Logo

अमेरिकाले खसाल्यो चौथो सन्दिग्ध ‘मानवरहित’ वस्तु


8.6k
Shares

वासिङ्टनडिसी । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा नचिनिएको ‘मानवरहित वस्तु’लाई खसालेको छ । अमेरिकाले यसै महिनाभित्र मात्रै यस्ता खालको वस्तु खसालेको यो चौथो पटक हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार दिउँसो क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमा त्यो उडिरहेको वस्तु खसाल्न आदेश दिएका थिए । पेन्टागनको वक्तव्यमा त्यो अज्ञात वस्तुले २० हजार फिट उचाइमा यात्रा गर्दा व्यावसायिक हवाई उडानलाई असहज बनाएको हुनसक्ने जनाएको छ ।

उसका अनुसार त्यो वस्तुलाई शनिवार पहिलो पटक मोन्टनाका संवेदनशील क्षेत्रमाथि उडिरहेको पत्ता लगाइएको थियो । त्यसलाई रक्षा अधिकारीहरूले मानवरहित, अष्टभुज आकारको र सैन्य खतरा नभएको वस्तुका रूपमा वर्णन गरेका छन् ।
उक्त वस्तुलाई एफ–१६ लडाकु विमानले स्थानीय समयअनुसार आइतवार दिउँसो २ बजेर ४२ मिनेटमा खसालेको हो ।

यो घटनाले उत्तर अमेरिकामा यसै महिनाभित्र खसालिएका निकै माथिको उचाइमा उडाइएका वस्तुहरूबारे थप प्रश्नहरू खडा भएका छन् । अमेरिकी महाद्वीपमा धेरै दिन घुमिसकेपछि एउटा सन्दिग्ध जासुसी बलुनलाई साउथ क्यारोलाइनाको तटमा फेब्रुअरी ४ मा पहिलो पटक खसालिएको थियो । अधिकारीहरूले पछि त्यो चीनमा बनाइएको र जासुसीका लागि प्रयोग गरिएको बताएका थिए ।

तर चीनले उक्त वस्तुलाई जासुसीका लागि प्रयोग गरिएको अस्वीकार गर्दै त्यो मौसम अनुगमन गर्ने उपकरण भएको बताएको थियो । उक्त घटना र त्यसपछिका तनावपूर्ण आरोप प्रत्यारोपले वाशिङ्टन र बेइजिङबीच तनाव बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्