Logo
Logo

सार्वजनिक बिदाका नाममा अराजकता भयो, स्वेच्छाचारिता बढ्यो : गगन थापा 


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिएको आरोप लगाएका छन्। सरकारले आज फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउन देशभर सार्वजनिक बिदा दिएको प्रसङ्गलाई थापाले सार्वजनिक बिदाका नाममा अराजकता भएको बताएका हुन् ।

‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो!’

उनले कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ?, प्रश्न लग्दै अगाडि लेखेका छन्, ‘कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो। यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ। न्यु जिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ।’  

संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राख्नुपर्नेसमेत उल्लेख गरेका छन् । थापाले भनेका छन्, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’

प्रतिक्रिया दिनुहोस्