काठमाडौं, ३० असोज ।
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा बिहीबार सुनुवाइ हुँदैछ।
जिल्ला अदालत चितवनको थुनछेक आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ हुन लागेको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको तेस्रो नम्बरमा रविको मुद्दा पेसीमा रहेको छ।
जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए। साधरण तारेखमा छाड्नुपर्ने उनको माग छ । मृतकले भिडियोमा बोलेको कुरालाई पुष्टि हुने कुनै प्रमाण नभएकाले साधरण तारेखमा छाड्नुपर्ने उनको दाबी छ ।
जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो।
लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए। कँडेल ३ लाख धरौटीमा र कार्की साधारण तारेखमा रिहा भएका थिए। सरकारी पक्षले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय बदर गरेर थुनामा पठाउनु पर्ने माग गरेको छ। प्रहरीले दबाबको भरमा मुद्दा दायर गरेको भन्दै यो प्रकरणमा प्रहरी विवादमा परेको थियो ।