
काठमाण्डौ । यातायात व्यावसायीको विरोधका कारण उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले उपत्यकामा सुरक्षाव्यवस्थालाई कडाई गर्दै सवारी साधन संचालन गर्न लागेको हो ।
ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा आन्दोलित बनेका यातायात व्यसायी संघले आज मंगलबार सार्वजनिक सवारी साधन नचलाउने घोषणा गरेसँगै मंगलबार विहान उपत्यका सुनसान बनेको छ ।
यातायात मजदुरले सोमबार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए । आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाडाैंबाट छुट्ने लामो दूरीका गाडी रोकिएका थिए ।
प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए । आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए ।
ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध हिजो सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले यसअघि गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । आज सरकारले आन्दोलनमा रहेका व्यवसायी र मजदुरहरुसँग वार्ता गर्दैछ । व्यवसायी र मजदुरहरुको आन्दोलनका कारण यात्रु भने मारमा परेका छन् ।











