Logo
Logo

वीर अस्पतालका चिकित्सकसहित ९१ जनालाई कारबाही गर्न सिफारिस


1.4k
Shares

काठमाडौं । वीर अस्पतालका चिकित्सकसहित ९१ जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालमा गैरकानुनी रूपमा कर्मचारी नियुक्ति गरेको निष्कर्ष निकाल्दै अस्पतालका चिकित्सकसहित ९१ जनालाई कारबाही गर्नुपर्ने सिफारिस गरेको हो ।

केन्द्रका प्रहरी उपरीक्षक राजेन्द्रकुमार पोखरेलको संयोजकत्वमा छानबिन समिति बनेको थियाे । उक्त समितिले ९१ जनालाई कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको समितिका सदस्य प्रहरी नायब उपरीक्षक बुद्धि खनालले जानकारी दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वीकृत दरबन्दीभन्दा बाहिरका कर्मचारी नियुक्ति गरी खुवाएको तलबभत्तालगायत सुविधाबापत भुक्तानी भएको रकमसमेत असुलउपर गर्न सकिने सुझाव दिएको छ ।

त्यस्तै, अन्यत्र दरबन्दी भए पनि स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयमा टेकेर वीरमा कार्यरत ३४ चिकित्सकसहित स्टार्फ नर्स, ल्याब टेक्निसियन, फिजियोथेरापिस्ट र रेडियोग्राफर गरेर ५२ जना र लेखापाल र सहसचिव गरी ५४ जनालाई ‘नियमअनुसार गर्न’ सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिन मनासिब हुने सुझाव दिएको छ ।

यी कर्मचारी कारबाही गरिनुपर्ने ९१ जनाबाहेकका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा २४ मा सरकारले स्वास्थ्य सेवाको कुनै पनि कर्मचारीलाई नाम्सको अनुरोधमा काजमा खटाउन सक्ने प्रावधान छ । तर, ती ५४ जना भने प्रतिष्ठानको अनुरोधमा नभई पहुँचका भरमा काजमा खटिएको समितिले निष्कर्ष निकालेको छ ।

त्यस्तै, केन्द्रले ट्रमा सेन्टरमा नवौं तहमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा एसोसिएट प्रोफेसरका रूपमा डा. गौरव ढकाललाई गरेको नियुक्ति पनि गैरकानुनी भएको निष्कर्ष निकालेको छ ।

केन्द्रले नियुक्ति दिने, तलबभत्तालगायत सुविधा दिने पदाधिकारीलाई कारबाही र नियमअनुसार असुलउपर गर्न मन्त्रालय र अख्तियारमा पठाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्