
काठमाडौं । नेपाल भ्रमणमा रहेका कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
सुङ मिन जाङले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपाल–कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको बुझिएको छ ।











