Logo
Logo

ठेकेदारको लापरबाहीले निर्माणाधीन भवनको ढलान खस्यो, २ जना घाइते


441
Shares

बारा । करोडौंको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला सोमबार ढलान खसेको हो ।

ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन् । घाइते मजदुरको स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका छन् । तर, घटनामा ठेकेदार कम्पनीको लापररबाही देखिएको छ ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना घटेको सेजमा कार्यरत प्राविधिकहरु बताउँछन् । प्रदर्शनी भवनको ढलान आफैमा चुनौतीपूर्ण रहेको अवस्थामा ठेकेदार कम्पनीले बलियो टेका लगाउनेतर्फ ध्यान नदिएको सेजका प्राविधिक बताउछन् ।

उक्त भवन निर्माणको जिम्मा काठमाडौंको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्धाणाधिन उक्त प्रदर्शनी भवनसहित चमेना गृह, दुई वटा प्रवेशद्धार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।

एक वर्षअघि ठेक्का सम्झौता गरेर काम सुरु गरेको उक्त कम्पनीले प्रदर्शनी भवनको ढलान कार्य आइतवार सुरु गरेको थियो । पहिलो दिनमा ढलान कार्य सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीले सोमबार बिहानदेखि काम सुरु गरेको थियो ।

करिब २६÷४५ मिटरको उक्त प्रदर्शनी भवनको ढलान भत्किएपछि सेजले विज्ञ टोली गठन गर्ने भएको छ । सेजका इन्जिनियर अजय चौधरीले घटनाको विषयमा केन्द्रलाई जानकारी गराएको र केन्द्रबाट विज्ञ टोली छानविनका लागी आउने बताए ।

चौधरीले ठुलो प्रदर्शनी हलको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण घटना भएको बताए । उनले क्षतीको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्