काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले विगतको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताए । उनले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार हुनुपर्नेमा जोड दिए ।
उनले भने– ‘पाँचदलीय गठबन्धन तोडिएपछि अहिले हाम्रो अर्को गठबन्धन बनेको छ । यसबाट हाम्रा साथीहरूमा आनन्दानुभूति देखिएको छ, कथंकदाचित गठबन्धन टुट्यो भने पनि तयार हुनुपर्छ ।’
उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले भने– ‘यो देशको पाले नेकपा ९एमाले० हो । त्यसैले एमालेलाई जुनसुकै बेलामा पनि आक्रमण हुनसक्छ, तर, एक छिन पराजित गरे पनि उनीहरूले नेकपा (एमाले)लाई कमजोर पार्न सक्ने छैनन् ।’
उनले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरे । उनले भने, ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।’











