काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संवैधानिक मर्यादाको रक्षा गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । नेता पौडेलले राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै त्यस्तो हुन नदिइने बताए ।

‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता प¥यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा गर्न कांग्रेस उत्रिँदैछ । यसो गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’
संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको उनको भनइ छ ।














